आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ । काठमाडौँलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रबिन्दु बारपाकमासमेत स्मृति दिवस कार्यक्रम हुँदैछन् ।
बारपाक सुलीकोट गाउँपालिकाको आयोजनामा भूकम्प स्मृति समारोह आयोजना हुन लागेको हो । कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सहरी विकासमन्त्री सीता गुरुङलगायत सरकारी अधिकारीहरूको सहभागिता हुने जनाइएको छ ।भूकम्प र ज्यान गुमाएकाहरूको स्मृतिमा निर्माण गरिएको स्मृति उद्यानको काम पूरा नभएको र पहिरोले क्षतिको जोखिम बढाएकाले आज उक्त विषयमासमेत मन्त्रीसँग छलफल र ध्यानाकर्षण गराउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पबाट हुने क्षति न्यूनीकरणका विषयमा दुईदिने कार्यशाला आयोजना गरेको छ ।भूकम्पको केन्द्रबिन्दु बारपाक काठमाडौँबाट ८० किलोमिटर उत्तर–पश्चिममा पर्छ । यो भूकम्प हिमालयमा गइरहने थ्रष्ट प्रकृतिको करिब १५ किलोमिटर गहिराइमा गएको मानिन्छ । उक्त भूकम्पले काठमाडौँ उपत्यकालगायत सोको उत्तरी भू–भागमा करिब एक मिनेट कम्पन गराएको थियो ।