काठमाडाैँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिसले पहिलो जित निकालेको छ। सातौं चरणमा पहिलो जित निकाल्ने क्रममा पुलिसले फ्रेन्ड्स क्लबलाई ३(१ ले पराजित गरेको हो। त्यस्तै सोमबारनै भएको अर्को खेलमा विभागीय टोली एपिएफ भने चर्च ब्वाइजसँग बराबरीमा रोकियो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसको जितमा बुद्ध तामाङले दुई गोल गर्दा विदेशी खेलाडी मोजेजले एक गोल थपे। फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काका थिए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा मोजेजले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए।

५८ औं मिनेटमा बुद्धले गोल गर्दै पुलिसलाई २–० को अग्रता दिलाए। खेलको ८७ औं मिनेटमा टोरिकले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर खेलको ९० औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिस ३–१ को जित दिलाए।

यसअघि पुलिस अघिल्ला ६ खेलमा एक खेलमा बराबरी गर्दा ५ खेलमा पराजित हुन पुगेको थियो। फ्रेन्ड्सको भने यो पाँचौ हार हो। उसले ७ मध्ये ५ खेलमा हार र व्योहोर्दा समान १–१ खेलमा जित र बराबरी गरेको छ। जितसँगै पुलिस र फ्रेन्डसको समान ४ अङ्क भएको छ। उनीहरु लिगको रेलिगेशन जोनमा रहेका छन्।

त्यस्तै अर्को विभागिय टिम एपिएफले भने चर्चब्वाइजसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ। दशरथ रङ्गशालामा भएको खेलमा दुबै टिमले गोलका केहि राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न चुकेका थिए। बराबरीपछि एपिएफको ७ खेलबाट ११ अङ्क भएको छ भने चर्च ब्वाइजको १३ अङ्क रहेको छ।
42
Shares
२७ चैत्र २०७९, सोमबार १८:१०