काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिने गरी आफूले काम गर्ने बताएका छन्।

आइतबार अर्थ मन्त्रालयमा आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा अर्थमन्त्री डा. महतले मुलुकको आर्थिक अवस्था अफ्ठ्यारो अवस्थामा रहेको भन्दै अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिने गरी आफूले काम गर्ने बताएका हुन्।

उनले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन आफू लागिरहेको बताए।

उनले अर्थतन्त्रमा लगानी, बैंकको ब्याजदर, पुँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको उल्लेख गरे।

मन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा बाह्य र आन्तरिक समस्याले गर्दा राजश्व संकलन न्यून भएको स्वीकार गरे। उनले विगतमा आर्थिक वृद्धिदरभन्दा बढी राजश्व संकलनको लक्ष्य राख्ने गरे पनि उत्साहजनक रुपमा संकलन हुने गरेको भन्दै चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व संकलन हुने अवस्था नभएको बताए।

उनले मुलुकको राजश्व संकलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिबन्धलगायतको कारण लक्ष्य पूरा हुन नसकेको उल्लेख गरे। सरकार साधरण खर्च धान्न आन्तरिक र बाह्य ऋणमा निर्भर हुनुपरेको उनको भनाइ थियो।

उनले साधरण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चितिलगायत अन्य अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले निराश भइहाल्ने अवस्था नरहेको दाबी गरे। उनले बैंकको ब्याजदर, मौद्रिक नीतिमा कडाइले सिर्जना गरेका परिस्थितिका कारणले अर्थतन्त्रमा केही अफ्ठ्याराहरु आएको बताए।

49
Shares
२७ चैत्र २०७९, सोमबार ०८:५९