काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौती गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको सङ्ख्या घटाउन आग्रह गरेका छन् ।

बुधवार नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको सङ्ख्या घटाउन आग्रह गरेका हुन् ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरु सबैले अत्यावश्यक बाहेकको खर्चलाई कटौती गर्नुपर्ने बताए ।

महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजीगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताए । यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए ।

देशको आर्थिक सङ्कट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग पनि सम्वाद गर्नुपर्ने बताए ।

स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै उनले एमालेसँगको सम्वाद र सहकार्य आवश्यक रहेको बताए ।

42
Shares
२२ चैत्र २०७९, बुधबार १५:५७