काठमाडौं । बाणिज्य बैंकहरूमा आगामी वर्ष खराब कर्जा बढ्नसक्नेतर्फ बैंकर्स संघले चेतावनी दिएको छ ।

बैंकर्स संघका अध्यक्ष सुनिल केसीले केही क्षेत्रको लगानी उठाउन समस्या देखिएकाले अहिलेको तुलनामा आगामी वर्ष खराब कर्जा बढ्ने संकेत गरे ।

बैंकर्स संघद्वारा आयोजित पत्रकार भेटघाटमा उनले कित्ताकाट रोकिँदा घरजग्गा कारोबार कम भएको र यसले खराब कर्जामा दबाब सिर्जना गरेको बताएका छन् ।

अहिले खराब कर्जा औसत २.४९ प्रतिशत छ । यस्तै पोखरा र लुम्बिनीमा एयरपोर्ट बनेकै कारण पर्यटन क्षेत्रको लगानी फस्टाउने आशले लगानी गरेपनि अहिले त्यही क्षेत्रको लगानीमा समस्या भएको केसीको भनाई छ ।

साना तथा मझौला उद्योग, निर्माण क्षेत्र, पोल्ट्रिफार्मलगायतको ऋण डिफल्ट हुने सम्भावना देखाउँदै नोक्सानको सम्भावना भने कम रहेको उनले बताए । अहिले बैंकहरूले दिएको ऋणको ७० प्रतिशत धितो भएकाले बैंक नोक्सानमा नजाने पत्रकार भेटघाटमा जानकारी गराइयो ।

एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले अहिले सबैभन्दा बढी मारमा निर्माण क्षेत्र भएकाले निर्माण क्षेत्रको भुक्तानी नहुँदा बैंकको खराब कर्जा बढ्ने सुनाए ।

77
Shares
१८ चैत्र २०७९, शनिबार १५:१६