हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले दोस्रोपटक प्रदेशसभामा विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको शुक्रबार दिउँसो बसेको बैठकमा मत विभाजन गर्दा मुख्यमन्त्री जमकट्टेललाई प्रदेशसभा बैठकमा उपस्थित ९१ सांसदमध्ये ६७ जनाले विश्वासको मत दिएका थिए । मुख्यमन्त्री जमकट्टेललाई नेपाली कांग्रेसका, नेकपा माओवादी केन्द्रका, एकीकृत समाजवादीका र हाम्रो नेपाली पार्टीका ६७ सासंदले विश्वासको मत दिएका हुन् ।

विश्वासको मतको विपक्षीमा १७ र तटस्थमा ७ मत परेको थियो । १९ सांसद अनुपस्थित थिए ।

नेकपा एमाले शुक्रबारै सरकारबाट बाहिरिएको छ । राप्रपाले गत फागुन १३ गते नै सरकारबाट बाहिरिइसकेको छ । गत पुस २५ गते पाँच दलका ७० सासंदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता जमकट्टेलले पहिलोपटक माघ ३ गते प्रदेशसभाका एक सय १० सांसदमध्ये एक सय पाँचजना सांसदको विश्वासको मत पाएका थिए ।

गत फागुन १३ गते राप्रपाले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जमकट्टेलले संविधानको धारा १८८ को उपधारा (२) तथा वाग्मती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम शुक्रबार प्रदेशसभामा पुन: विश्वासको मत लिएका हुन् ।
84
Shares
१० चैत्र २०७९, शुक्रबार १८:४२