विराटनगर । राम जानकी सेवा सदनमा जारी तीन दिने नेपाल–भारत साहित्य महोत्सव १० बुदे विराटनगर घोषणा पत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । महोत्सव विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा भएको थियो ।

महोत्सवको अन्तिम दिन जारी घोषणापत्रमा नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एकअर्को देशमा प्रवर्द्धन गर्ने,महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारहरूसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने, आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने, युवा स्रष्टाहरूलाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षैभरि दुवै देशमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्ने र एकअर्का देशमा आमन्त्रण गर्ने,युवा साहित्यकारहरूलाई प्रोत्साहित गर्ने लगायतका कुराहरू रहेका छन् ।

चैत्र ३ गते सुरु भएको महोत्सवमा राष्ट्र तथा अन्तराष्ट्र प्रतिभाले विभिन्न लघुकथा वाचन गरिएका थिए। जसको संयोजन नेपालमा सर्वप्रथम लघुकथामा विद्यावारिधि गर्नुभएका डा.पुष्करराज भट्टले गर्नुभएको थियो ।

उक्त अवसरमा मनोहर पोखरेल, निरज कोइराला, पुष्पा सायरा लगायत नेपाल तथा भारतका लघुकथाकारहरूले आ–आफ्ना वाचन गर्नुभएको थियोे ।कार्यक्रममा नेपाल लगायत भारतका कवि तथा साहित्यकारहरूले कविता, गजल, चारु, मुक्तक आदि वाचन गर्नुभएको थियो ।

महोत्सवको अन्तिम दिन साहित्यमा अनुवादको महत्व बारे छलफल गरिएको थियो । जसमा डा.पुष्कर राज भट्ट, डा.घनश्याम परिश्रमी, विभारानी श्रीवास्तव, राजेन्द्र गुरागांई, डा.देवी पन्थी लगायतको सहभागीता रहेको थियो ।

अग्रज साहित्यकार विवश पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, मेरठ अकादमीका अध्यक्ष डा.विजय पण्डित, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, वरिष्ठ साहित्यकार डा.घनश्याम न्यौपाने परिश्रमी, पोखराका साहित्यकार बलराम उपाध्याय रेग्मी, भानु कला केन्द्रकी अध्यक्ष माया पौडेल, कार्यक्रम संयोजक देवी पन्थी, चन्द्रागिरी साहित्य प्रतिष्ठान काठमाडौं अध्यक्ष जनार्दन अधिकारी धड्कन, वसन्त अनुभव, तेजप्रसाद खनाल लगायतको सक्रिय सहभागीता रहेको थियोे ।

140
Shares
६ चैत्र २०७९, सोमबार १५:३७