उता, सरकारले पनि सङ्क्रमणकालीन न्याय टुंगो लगाउन ऐन संशोधन विधेयक अघि बढाएको छ । तर यो विषय पार लगाउन आवश्यक राजनीतिक सहमति बनाउन भने कसैले ध्यान दिएको छैन ।
शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायको विषय झन् पेचिलो बन्दै गएको छ । दलहरू सत्ता केन्द्रित दाउपेचमा लाग्दा १६ वर्षसम्म पनि यो विषयले प्राथमिकता पाएको छैन । पछिल्ला केही दिनयता भने प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाउँदै उपाय खोजिरहेको देखिन्छ ।अघिल्लो पटक सांसद नभएका गोविन्द बन्दीलाई मन्त्री बनाउनेदेखि छुटिएर गएका सहकर्मीलाई एक ठाउँमा ल्याएर दबाब सिर्जना गर्न खोजेका छन् । उनले अहिले गठबन्धन दलभित्र छलफललाई सघन मात्र बनाएका छैनन्, ऐन संशोधन विधेयकसमेत संसद्मा दर्ता गराएका छन् ।
सङ्क्रमणकालीन न्याय टुंगो लगाउन सबै राजनीतिक दलदेखि पीडितपक्षका सरोकारसमेत सम्बोधन गर्नुपर्छ । तर, सधैँ सत्ताको दाउपेचका कारण भइरहने गठबन्धन फेरबदलले यो विषय जटिल बनिरहेको छ । आफू सत्तामा हुँदा शान्ति प्रक्रिया टुंगोमा पुर्याउन प्रतिबद्ध छु भन्ने एमाले अहिले सरकारकै विषय हो भन्दै पन्छिन खोजेको देखिन्छ ।