उपराष्ट्रपति पदको निर्वाचनका लागि गठबन्धन दलबाट ३ र नेकपा एमालेबाट एक जनाको उम्मेदवारी परेको हो । गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहाय यादव र प्रमिला कुमारी यादवले उम्मेदवारी दिएका छन् ।
यस्तै सत्तामै रहेको अर्को दल जनमत पार्टीका तर्फबाट ममता झाले पनि उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् । संसद् भवन बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयलमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारीविरुद्ध भने दुई वटा उजुरी परेका छन् ।
यादवको उम्मेदवारीविरुद्ध उपराष्ट्रपति पदकै उम्मेदवारद्वय अष्टलक्ष्मी शाक्य र ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । एमालेबाट उपराष्ट्रपति उम्मेदवार शाक्यको तर्फबाट एमाले सांसद महेश बर्तौलाले उजुरी दर्ता गराएका हुन् भने जनमत पार्टीबाट उपराष्ट्रपति उम्मेदवार ममता झाले उजुरी दिएकी हुन् ।दुवै उजुरीमा राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने दाबी गरिएको छ । उजुरीका लागि दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म समय तोकिएको थियो । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उजुरीमाथि छानबिन गरी भोलि निर्णय सुनाइने बताए ।
उपराष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।