काठमाडौँ । उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा) बाट प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दिएकी छिन् ।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर राष्ट्रिय सभा सदस्य यादवले उम्मेदवारी दर्ता गरेकी हुन् ।

यादवको प्रस्तावकमा सांसदहरू रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् ।

यसअघि जसपाका संसदीय दलका नेता रामसहायप्रसाद यादवले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् । जसपाको केन्द्रीय कार्यकारिणि समितिले यसअघि नै रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खस आर्य समुदायबाहेकका उम्मेदवार हुनुपर्ने स्पष्ट पारेपछि जसपाले प्रमिला यादवलाई समेत उठाउने भएको हो ।
56
Shares
२७ फाल्गुन २०७९, शनिबार १४:१०