वीरगञ्ज – स्ववियु निर्वाचनको विषयलाई लिएर वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी भएको छ।

अगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको विषयलाई लिएर शुक्रबार विवाद उत्पन्न भएपछि क्याम्पसमा केही विद्यार्थीहरुले क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हुन्।

मतदाता नामावली प्रकाशन गर्दा नक्कली विद्यार्थीहरुको समेत नामावली प्रकाशित गरेको आरोप लगाउँदै विद्यार्थीहरुले विरोध गरेपछि विवाद उत्पन्न भएको थियो।

क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुख रामविनय प्रसाद यादवले विद्यार्थीको नामावलीमा त्रुटि गरेको भन्दै विद्यार्थीहरुले उनको राजीनामा माग गरेका थिए। सोही क्रममा विवाद बढेको थियो।

विवाद बढ्दै जाँदा केही विद्यार्थीले आगजनी गरिदिएका हुन्। क्याम्पसमा आगजनी भएपछि प्रहरीले तीन जना विद्यार्थी नेताहरुलाई पक्राउ गरेको छ।

प्रहरीले अनेरास्ववियु क्रान्तिकारीका नेता शिवम साह, एकीकृत समाजवादी निकटका सुजित गिरी र अनेरास्ववियुका नेता अभिषेक चौहानलाई पक्राउ गरेको हो।

पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले क्याम्पसमा भएको विवादको क्रममा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

70
Shares
२६ फाल्गुन २०७९, शुक्रबार १६:४५