विराटनगर । होली पर्व भन्नोबित्तिकै धेरै उत्साहित हुन्छन् । एउटा बेग्लै खाले उमंग बोकेर आउने होली पर्वले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उत्साहित बनाउने गरेको छ ।
हिन्दु धर्मबलम्बीहरुको महान पर्व फागू पूर्णिमा अर्थात होली पर्व यस वर्ष फागुन २३ गते परेको छ । होली नजिकिएसँगै बजारमा होली लक्षित कपडा, रङ, अबिर, पिचकारी देखिन थालेका छन् ।बजारमा त्यस्ता सामग्री धेरै राखिएको छ । बालबालिका रङ, पिचकारी किन्न अभिभावकसँगै बजार पुगेको देखिन्छ । तर अघिल्ला वर्षमा जस्तो धेरै चहलिपहल भने अहिलेसम्म देखिएको छैन ।
होलीको मुख्य दिन नजिकिंदै गर्दा यसपटक उति व्यापार नभएको व्यवसायीहरुको अनुभव छ ।विराटनगरमा पसल सञ्चालन गर्दै आएका पप्पु साह पसलहरुमा होलीका सामग्री उपलब्ध भए पनि राम्रोसँग व्यापार हुन नसकेको बताउँछन् ।
‘यसपटक बिक्री उत्साहजनक छैन’ साहले भने, ‘अघिल्लो वर्षकै मूल्यमा बेच्दा समेत मानिसहरु सिमापारि जोगबनीमा सस्तो पाउने आशाले जाने गरेका छन् ।’
अर्का व्यवसायी सन्तोषकुमार सिंह गत वर्षको तुलनामा यसपालि बजार सुनसानजस्तै भएको बताउँछन् । आर्थिक संकटबाट गुजरिदै गरेको देशको यस परिस्थितिमा बजार सुस्त हुनु स्वाभाविक रहेको उनले बताए ।
‘अझ केही दिन बाँकी छ’ उनले भने, ‘आशा छ व्यापार राम्रो हुन्छ ।’
खुला सीमा नाकाले विराटनगरको व्यापारलाई प्रभावित बनाएको व्यवसायीहरुको भनाइ छ ।
मानव स्वस्थयसँग प्रत्यक्ष जोडिने होली पर्वमा सिमापारि भारतबाट सस्तोमा ल्याइने बस्तुको गुणस्तर जाँच गर्ने संयन्त्र नहुँदा होलीका लागि ल्याइने रङ, अबिर, मास्कलगायत वस्तुबाट जोखिम त छ नै, अर्कातिर स्थानीय व्यापार समेत प्रभावित बनेको छ ।
यस्तो छ होलीको पौराणिक प्रसंग
होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने मनाउने गर्छन् ।
हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ ।
हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफौँ आगोमा भष्म भएकी थिइन् र बिष्णुभक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।
यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।
होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ ।
होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् ।
युवायुवतीहरू गीत गाउँ नाच्दै होली खेल्छन् । भनिन्छ, होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुश्मनी बिर्सेर मान्छे एकअर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् ।
यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।
होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्म मनाइन्छ ।
होलीसँग सम्बन्धित अर्को प्रसङ्ग पनि छ । द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ छ ।