काठमाडौं ।  यूएईमा आजबाट सुरु त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले जितका साथ सिरिजको सुरुआत गरेको छ । याे सिरिज आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिज हाे ।

नेपालले सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी(पीएनजी)लाई पराजित गरेको छ । यूएईस्थित दुबई अन्तराष्ट्रिय मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको हो ।

पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । कुशलले ५ चौका प्रहार गरेका थिए ।

अर्का ओपनर आसिफ शेखले ४४ रन बनाए । दुई ओपनरका बीचमा ७६ रनको साझेदारी भएको थियो । मध्येक्रमका ब्याटर आरिफ शेखले ६२ बलमा ३८ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरेका थिए ।

कप्तान रोहितकुमार पौडेलले २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुवा र सेसे बाउले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको हो । पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रनमा गुलशन झाबाट आउट भए । सेसे बाउ पनि झाकै बलमा ३१ रनमा आउट भए ।

किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाएर कुशल मल्लको बलमा आउट भए । हिरि हिरिले १० रन बनाउँदा आजको खेलमा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका प्रतिश जी.सीले आउट गराए । नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी,सोमपाल कामी,प्रतिश जी.सीको नाममा समान १/१ विकेट रह्यो  ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर प्रतिश जी।सीले पपुवा न्युगिनी विरुद्ध डेब्यू गरेका हुन् ।

91
Shares
१५ फाल्गुन २०७९, सोमबार १९:०९