सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएपछि सतर्कता अपनाइएको छ । दुई हप्तामा बर्जुमा २९ जनामा दादुरा भएको पुष्टि भएको छ ।

बर्जुमा पहिलो पटक २ नम्बर वडामा ७ महिने बालकमा दादुरा पुष्टि भएको थियो । अहिले बर्जु गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन् ।

गाउँपालिकाको एकै ठाउँमा एक साथ ५ जना धेरैमा दादुरा भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपतकालीन कार्य योजना अघि बढाएको छ ।

प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा पालिका तहसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले १० हजार बालबालिकालाई दादुराबिरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताए ।

दादुराको संक्रमण रोक्नका लागि ६ महिनादेखि १५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइनेछ । यसको रोकथामका लागि सबै उपाय तत्काल अवलम्वन गर्न लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका अनुसार बर्जुका सबै ६ वटै वडाहरुमा फागुनको १६ गतेदेखि एकसाथ दादुराबिरुद्धको खोप अभियान सञ्चालन हुनेछ ।

35
Shares
१३ फाल्गुन २०७९, शनिबार १८:३२