त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार चैत ५ मा देशभरका आंगिक, सामुदायिक र निजी क्याम्पसमा निर्वाचन हुँदै छ । स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७९, आचारसंहिता र समय तालिका जारी गर्दै त्रिविले फागुन २९ दिउँसो २ बजेदेखि चैत २ राति १२ बजेसम्म मात्र चुनाव प्रचार गर्न पाउने व्यवस्था गरेको हो ।
त्यसपछि ४८ घण्टे मौनअवधि सुरु हुनेछ । २९ गते उम्मेदवारको अन्तिम नामवली प्रकाशित भएपछि मात्रै प्रचारप्रसार गर्न पाइने स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए ।फागुन २७ मा प्रत्यक्ष र सामानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने समयतालिका प्रकाशित गरिएको छ । त्यसअघि नै उम्मेदवारी दिन चाहने संघ, संगठन वा समूह दर्ता गर्नुपर्नेछ । फागुन १९ मा सम्बन्धित क्याम्पस निर्वाचन समितिमा दर्ता गरेपछि आधिकारिक रूपमा स्ववियु निर्वाचनको गतिविधि अघि बढ्ने अधिकारीले जनाए ।
‘प्रत्यक्षतर्फ स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिन पाइन्छ, संघ/संगठनबाहेक विद्यार्थीहरूले समूह बनाएर पनि प्रत्यक्ष र समानुपातिकमा चुनाव लड्न सक्छन्,’ उनले भने ।