विराटनगर । बुढीगंगामा हत्यापछि बोरामा शव हालेको अवस्थामा फेला परेकी महिला विराटनगर महानगरपालिका १९ घर भएकी २८ वर्षीया प्रियङ्का सुनवार साह भएको खुलेको छ ।

उनको हत्या आरोपमा प्रहरीले श्रीमान् २९ वर्षीय रमेश साहसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले कटहरी गाउँपालिका ५ का रमानन्द राम र कटहरी ५ का ३५ वर्षीय उमेश सरदारलाई अनुसन्धानको लागि सोमबार नियन्त्रणमा लिएको हो ।

पक्राउ परका रमानन्द शव व्यवस्थापनको लागि एम्बुलेन्स खोज्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । सुरुमा प्रहरीले उनैैलाई पक्राउ गरेको थियो । त्यसपछि हत्या गरेर शव फेला पारेको थियो ।

मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीमा नर्सिङ चौधरीको घरको ग्वालीमा बोराभित्र शव भेटिएको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट पारिवारिक कारणले हत्या भएको देखिएको प्रहरीको भनाइ छ ।

प्रियङ्काको हत्या आइतबार दिउँसो २ देखि ३ बजेको बीचमा भएको अनुमान गरिएको छ ।

शव भेटिएको घरधनी चौधरी र रमानन्द पहिला देखिको चिनजान थियो । रमानन्दको माध्यमबाट रमेशले मोटरसाइकलमा राखेर श्रीमती प्रियंकालाई लिएर गएका थिए ।

स्थानीयका अनुसार आइतबार उक्त घरमा दुई जना युवाहरू आएका थिए । केही समयपछि चौधरीसँग चिनजान भएका अर्का एक व्यक्तिले मोटरसाइकलमा राखेर महिलालाई त्यहाँ छोडेका थिए । महिलालाई लिएर आएका व्यक्ति र घरधनी चौधरी घर बाहिर निस्केपछि दुईजना युवक र महिला घरमा थिए ।

एक घण्टापछि चौधरी घरमा आउँदा दुई युवामात्र थिए । चौधरीको घर परिसरमै रहेको ग्वालीमा थुपारिएको पराल र भुसको थुप्रो भित्र बोरामा हालेको अवस्थामा महिलाको शव सोमबार फेला परेको हो ।

महिलाको घाँटीमा नीलडाम र कानमा कोट लागेको छ । प्रहरीले मृतकको शव पोस्टमार्टमको लागि विराटनगरस्थित कोसी अस्पतालमा राखेको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । स्थानीय बासिन्दा र सम्बन्धित अरु व्यक्तिसँग सोधपुछ गर्ने र प्रमाणहरु संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

154
Shares
८ फाल्गुन २०७९, सोमबार १८:३३