मुख्य सत्तारुढ दल नेकपा एमालेले पुस १० को सहमति अनुसार आफ्नै दलबाट राष्ट्रपति उम्मेदवार बन्ने दाबी गरिरहेको छ ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग भएको समझदारी अनुसार कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्ने दाबी गर्दै आएको छ ।राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिँदै आएको सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक आज सोमबार बस्दैछ ।
बैठकमा राष्ट्रपतिमा कांग्रेस या एमाले कसलाई सघाउने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । हिजो मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रपतिको चुनावमा सघाउन आग्रह गरेका छन् ।जवाफमा प्रधानमन्त्री प्रचण्डले यसबारे पार्टीभित्र छलफल गरेर निर्णय दिने बताउनुभएको छ । गत पुस १० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड अहिले राष्ट्रपतिको चुनावसँगै कांग्रेससँग सहकार्य अघि बढाउने योजनामा छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदैछ । नयाँ राष्ट्रपति चयनको लागि २५ गते चुनाव हुँदैछ । आउँदो शनिवार १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।