काठमाडौं । डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा केआईसिंह–१ महादेवका ३६ वर्षका चालक गोविन्द शाही र केआईसिंह–२ जारिमभाडीका ४१ वर्षका धनबहादुर तिरुवा छन् ।

दुर्घटनामा केआईसिंह गाउँपालिका डुम्राकोटका २७ वर्षीय तेज तिरुवा, उहाँकी श्रीमती २६ वर्षीया राधा तिरुवा, समिर तिरुवा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मिन लुहार घाइते भएका छन् ।

घाइतेको दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका निरीक्षक लक्ष्मीराज जोशीले जनाएका छन् ।

दिपायलबाट घाँटलायाका लागि छुटेको सुपप्र ०१२३००१ च ३३२९ नम्बरको जीप लोलीमा शुक्रबार राति दुर्घटना भएको हो ।
42
Shares
६ फाल्गुन २०७९, शनिबार ११:२६