विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी कार्यकर्ता भन्दा बाहिरबाट राष्ट्रपति चयन  हुनसक्ने बताएका छन् ।

माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा आज शुक्रबार सम्पन्न पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र संसदको पाँचै वर्ष स्थिरता रहन प्रतिबद्ध व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्ने उनको भनाइ थियो ।

उनले पूर्वराष्ट्रपति रामवरण यादव र राष्ट्रपति विद्यादेवी भण्डारी जस्तो व्यक्तित्व राष्ट्रपतिको उम्मेद्वार हुन नसक्ने पनि बताए ।

रामवरण यादवले तत्कालीन माओवादी नेतृत्वको सरकारले गरेको निर्णयमा हस्तक्षेप गरेको र हालकी राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको कार्यकर्ता भएको शर्माको आरोप थियो ।

जसका कारण संविधानको सही कार्यान्वयन हुन नसकेको र संसदलाई अस्थिर बनाउने कोसिस भएको उनको जिकिर थियो ।

‘राष्ट्रपति भनेको संविधान मान्ने बनाउन खोजेका छौं । त्यसको अर्थ कुनै पनि पार्टीको नेतालाई बनाउँदैनौं भन्ने हो,’ शर्माले बैठकमा भनेका थिए ।

यसबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि औपचारिक प्रस्ताव गरिसकेको उनले बताए ।

शर्माले माओवादी अब पुरानै तरिकाले अगाडि बढ्न नसक्ने पनि बताएका थिए । ‘पुरानै तौर तरिकाबाट नचल्ने देखियो । आगामी ४ वर्ष घुँडा घसेर काम गर्नु आवश्यक छ,’ शर्माले भने ।

42
Shares
५ फाल्गुन २०७९, शुक्रबार २१:१३