यसै सन्दर्भमा विराटनगर–१४ मा ५ करोडभन्दा बढीको लागतमा निर्माण हुने रानीपोखरी ग्रीनपार्कको मेयर कोइरालाले शिलान्यास गरे । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनाका साथ ग्रिनपार्कको निर्माण सुरु गरिएको मेयर कोइरालाले बताए ।
विराटनगरलाई सफा, सुन्दर, हरियाली, व्यवस्थित विकसित बनाउने अभियानमा लागेकाले सहयोग गर्न मेयर कोइरालाले आग्रह गरे । उनले मण्ठापोखरी, विराटराजाको दरबारको भौतिक संरचना निर्माणका लागि ठेक्का प्रक्रियामा गइसकेको सुनाए ।“विराटनगरलाई भावीपुस्ताले गर्व गर्न लायक बनाउने अभियानमा लागेका छौं,” मेयर कोइरालाले भने, “तुलनात्मक रुपमा दक्षिणी क्षेत्र विकासमा पछि परेको छ । यो कुरा हामीले बुझेका छौं । हामी विकासका लागि दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छौं ।”
रानीपोखरी ग्रिनपार्क ५ करोड १७ लाख ६४ हजार ७ सय ८४ रुपैयाँको लागतमा निर्माण हुनेछ । साढे २ बिघा क्षेत्रफल निर्माण हुने ग्रिनपार्कमा कम्पाउण्ड वाल, आकर्षक प्रवेशद्वार, पानीको फोहोरा, आकर्षक बगैंचा, मन्दिर, रानी माताको मूर्ति, विश्रामस्थल, शौचालयलगायत हुनेछ । हाल सो ठाउँमा पोखरी रहेको छ ।पोखरीलाई यथावत राखेर अन्य संरचना निर्माण गरिनेछ । सो पोखरीमा राजाविराटकी रानी आएर नुहाउने गरेको किवदन्ति छ । निर्माणका लागि कला विल्र्डस विराटनगरले ठेक्का पाएको छ । ८ करोड, ३६ लाख ७७ हजार १ सय ६१ रुपैयाँमा लागत अनुमान गरिए पनि कला विल्र्डसले करिब ३ करोडभन्दा कममा ठेक्का पाएको हो । महानगर र निर्माण कम्पनी कला विल्र्डसबीच गत माघ १८ गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ माघ २९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।
सम्भव भएसम्म तोकिएको समय अगाडि नै निर्माण सम्पन्न गर्ने योजना रहेको निर्माण कम्पनीका प्रमुख सञ्जयकुमार यादवले बताए । यादवका अनुसार कम्पाउण्डवालबाट काम सुरु हुनेछ । ग्रिनपार्क निर्माणपछि आन्तरिक र सीमावर्ती भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने स्थानीय रतनकृष्ण यादवले बताए । “महानगरपालिकाले एकदमै राम्रो काम गरेको छ,” उनले भने, “भारतीय पर्यटक भित्र्याउन सके यस क्षेत्रको आर्थिक विकाससँगै रोजगारीसमेत सिर्जना हुनेछ ।”