महोत्तरी को बर्दिबासमा पैसा चोरीको आरोपमा एक बालकमाथि ६ घण्टासम्म बन्धक बनाएर निर्घात कुटपिट गरिएको छ । बर्दिबास १२ बस्ने १४ वर्षीय इन्द्रजित कुमार महतोलाई खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानीयले निर्ममतापुर्वक कुटपिट गरेका हुन् । कुटपिटबाट महतो गम्भरि घाइते भएका छन् ।

पीडित परिवारका अनुसार २३ माघमा भएको उक्त घटनामा स्थानीय युवाहरु सन्जित महतो, रामजन्म महतो, सुशील महतो, रन्जित महतो, हरि महतो र रन्जित चौधरीले ६ घण्टासम्म बन्धक बनाएर महतोलाई कुटपिट गरेका थिए । उनीहरुको कुटपिटबाट बालकको शरीरभरि चोटपटक लागेको छ ।

स्थानीयका अनुसार इन्द्रजितलाई मोटरसाइकलको पछाडि राखेर घिसार्दै सन्जित महतोको घरमा र्पुयाएर ६ घण्टासम्म यातना दिएका थिए । इन्द्रजित महतोले भने, “मलाइ बाइकमा घिसारेर सन्जित महतोको घरमा र्पुयाए अनि डोरीले दुवै हात बाधेर झुण्ड्याएर कुटपिट गरे । खुकुरी देखाए, पैतालामा तारले कुटे, मलाई पानीमा मुन्टो डुबाये अनि पैतालामा पनि असहय हुनेगरी पिटे, टाउकोमा पनि औँठी लगाएको हातले जोडले मारे ”।

इन्द्रजितको पैतालामा सिर्कनाले हानेको अझै निलडाम देख्न सकिन्छ । हिड्डुल गर्न समेत समस्या बनिरहेको अवस्थामा उनी विद्यालय समेत जान सकेका छैनन । महतोको ढाडमा लठ्ठीको सुम्ला देखिन्छन भने खुट्टामा समेत गहिरो निलडाम छ । सो घटनापछि इन्द्रिजितकी आमा कोशिला देविलाई समेत घरमा आएर ती युवाहरुले अभद्र व्यवहार गरेको आरोप छ । कुटपिट गर्ने युवाहरुलाई कडा कारवाही गर्न इन्द्रजितको परिवारले माग गरेको छ ।
घटना भएको भोलिपल्ट नै प्रहरी चौकी हात्तिलेटमा निवेदन दिएपनि प्रहरीले वास्ता नगरेको पिडितको आरोप छ । हात्तिलेट प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले घटनाको विषयमा जानकारी भएपनि पीडित जाहेरी दिन नआएको बताए । तर पीडित पक्षले प्रहरी चौकीवाट ३ सय दस्तुर लिएर निवेदन दर्ता गरिसकेको दावी गरेको छ । प्रहरी उपरिक्षक प्रकाश मल्लले घटनाको बिषयमा जानकारी लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने बताएका छन् ।

14
Shares
२९ माघ २०७९, आईतवार ११:२५