काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।

कांग्रेसभित्र विश्वासको मत दिने पक्ष विपक्षमा विवाद भइरहँदा कार्यसम्पादन समिति बैठकले भने विश्वासको मत दिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । सहमहामन्त्री महेन्द्र यादवले भने, ‘अहिले हामीले वर्तमान संविधानको रक्षाका लागि यो सरकारलाई विश्वासको मत दिने निर्णय गरेका छौँ ।’

पार्टी सभापति शेरबहादुर देउवाले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्न बैठकमा प्रस्ताव गरेका थिए । यसअघि आजै बिहान कांग्रेस पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकमा सभापति देउवाले विश्वासको मत दिन प्रस्ताव गरेका थिए । तर पदाधिकारी बैठकमा नेताहरुबीच मतभेद देखिएपछि निर्णयका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो ।

कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरु भने विश्वासको मत दिन नहुने पक्षमा थिए । उनीहरुले विश्वासको मत दिने हो भने अराजनीतिक हुने भन्दै विपक्षमा उभिनु पर्नेमा जोड दिँदै आएका थिए ।

35
Shares
२६ पुष २०७९, मंगलवार १३:१६