विराटनगर । विराटनगर महानगरपालिकाले सिटी बस सञ्चालन गर्ने भएको छ। प्रारम्भिक चरणमा १८ वटा सिटी बस सञ्चालनको तयारी रहेको महानगरले जनाएको छ। महानगरका अनुसार निजी क्षेत्रसँगको साझेदारीमा नगर बस सञ्चालन गर्ने गृहकार्य भइरहेको छ।

यसअघि पनि विराटनगरले नगर बस सञ्चालन गर्ने योजना बनाएको थियो।  उक्त योजना सफल हुन सकेको थिएन। यसपटक विस्तृत कार्ययोजनासहित बस सञ्चालनको तयारी गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए। महानगरमा चल्ने गरी बस सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए।

बस बातानुकुलित सुविधासहितको हुने महानगरले जनाएको छ। महानगरका अनुसार सिटी बसमा वृद्धवृद्धाहरूलाई निःशुल्क, महिला र विद्यार्थीलाई विशेष सहुलियत प्रदान गरिने जानकारी दिइएको छ।

बस सञ्चालनका लागि रुट पनि तयार भइसकेको मेयर कोइरालाले बताए। बस सेवा सञ्चालनका लागि प्रदेश लगानी बोर्डसँग आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए।

बस सञ्चालनका लागि महानगरपालिकासँग श्रीपदी ट्रेडिङले साझेदारी गर्ने बताइएको छ। प्रदेश सरकार गठनपश्चात् बाँकी रहेका प्रक्रिया अघि बढाइने जनाइएको छ।
63
Shares
२० पुष २०७९, बुधबार २०:३६