विराटनगर । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफनो कार्यकालमा गरेको कामको विवरण बुधबार सार्वजनिक गरेको छ ।
प्रदेश १ का कानुन मन्त्री केदार कार्कीले आफनो कार्यकाल सफल रहेको दाबी गरे ।मन्त्री कार्कीले २०७८ कात्तिक १६ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
उनले विराटनगर महानगरपालिका, मुख्यमन्त्रीको कार्यालय, मन्त्री आवासको निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाएको बताए ।सात प्रदेशमध्ये प्रदेश नम्बर १ शान्ति सुरक्षाको कार्य सम्पादनमा पहिलो बन्न सफ बनेको पनि उनले बताए ।
मन्त्री कार्कीले आफनो कार्यकालमा बेरुजु शून्य बनाए । केसालिया को व्यवस्थान तथा रानी—दुहबी करिडोर निर्माणका लागि गुरुयोजना बनाएर प्रक्रिया सुरु गरेको जनाइएको छ ।
लागूऔषधि प्रयोगलाई निरुत्साहित गर्न पुनःस्थापना केन्द्रलाई अनुदान दिने काम भएको मन्त्री कार्कीले उल्लेख गरे ।
मन्त्री कार्कीका अनुसार ‘सुरक्षित यात्रा, सुरक्षित सडक’का लागि प्रविधिमैत्री सडकको निगरानी गर्न यस प्रदेशमा रानीदेखि धरानसम्म सीसी क्यामेराको जडान भइसकेको छ ।
‘प्रहरी सुरक्षितः नागरिक सुरक्षित’ भन्ने मान्यतालाई मूर्त रुप दिन प्रदेश नम्बर १ मा प्रहरीका लागि नयाँ भवनको निर्माण तथा मर्मत—सम्भारका कामले तीव्रता पाएको उनको भनाइ छ ।
यसै आर्थिक वर्षमा १५ वटा नयाँ भवननिमार्णका साथै १०४ वटा पुराना भवनलाई मर्मत—सम्भारका लागि बजेट विनियोजन भई निर्माण तथा मर्मत सम्भारको काम सुरु भइसकेको साथै सीमा सुरक्षाका लागि बिओपीको स्थापना गरिएको छ ।