विराटनगर । नेपाल क्रिकेट संघ (क्यान)ले हाल भइरहेको नेपाल टी२० लिगमा भएका भनिएका ‘म्याच फिक्सिङ’का प्रमाणसहित क्यानको केन्द्रीय कार्यालय वा एसियूमा उजुरी बुझाउन अनुरोध गरेको छ ।

आज एक विज्ञप्ति जारी गरेर क्यानले प्रतियोगिताका दौरान भएका भनिएका म्याच फिक्सिङबारे आफ्नो ध्यानाकर्षण भएको जानकारी दिँदै त्यसको प्रमाणसहित क्यानको केन्द्रीय कार्यालय वा प्रतियोगिताको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन अनुरोध गरेको छ ।

साथै, क्यान नेपाली क्रिकेट र राष्ट्रको इज्जतमा ठेस पुर्याउने गरी हुने गतिविधि अन्त्य गर्न प्रतिबद्ध रहेको जनाउँदै प्रमाणित नभएका मिथ्या सूचना नफैलाउन आग्रह समेत गरेको छ ।

प्रतियोगिताका दौरान खेलमा मिलेमतो भएको आरोपसहित नेपाल टी२० लिगका कमेन्टेटर सचिन तिमल्सिनाले मंगलबार (हिजो) फेसबुकमा भिडियो सेयर गरेका थिए । त्यसयता नेपाल टी२० लिग विवादमा तानिएको छ । झनै नेपालका पूर्व कप्तान र प्रतियोगितामा सहभागी काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ले आफ्नो टोलीका एक खेलाडीलाई खेल मिलेमतोको प्रस्ताव आएको अभिव्यक्ति दिएपछि प्रतियोगिता र क्यान दबाबमा परेको हो ।

खेलाडीको पारिश्रमिकको विषय मैदानसम्मै आइपुग्दा, आयोजना अधिकार पाएका कम्पनीका पदाधिकारी र प्रतियाेगितामा सहभागि टोलीका मालिक सम्पर्कविहीन हुँदा, खेलाडीले टस गर्नै नमान्दा र नाम चलेका विदेशी खेलाडी प्रतियोगिताको आधामा नै नेपाल छाडेर हिँडेपछि नेपाल टी२० लिग सञ्चालन हुन्छ भन्नेमा शंका भइरहेको छ ।

प्रतियोगितामा २३ खेल भइसक्दा लुम्बिनी अल स्टार्स १६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै क्वालिफायरका लागि छनोट भइसकेको छ ।

28
Shares
२० पुष २०७९, बुधबार १४:२७