समस्या समाधानका लागि प्रयास गर्दा पनि समाधान नभएको भन्दै विभागले राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएकाले अर्को सूचना जारी नहुँदासम्म राहदानी वितरण कार्य रोकेको विभागका प्रवक्ता दुरपदा सापकोटाको भनाइ छ ।
पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आएको जनाइएको छ । त्यही कारण राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको हो ।नियमित रूपमा राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन विभागले भनेको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचयपत्रमा देखिएका समस्या समाधान गरी चुस्तदुरुस्त सेवा दिने निर्णय गरेको थियो ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेर सेवाग्राही र विभागको अवस्थाबारे जानकारी लिएका थिए ।