काठमाडौं । रोजगारीका लागि विदेश जान तत्काल श्रम स्वीकृति लिनुपर्नेहरुका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले स्वीकृतिको टोकन व्यवस्थापनलाई सहज बनाएको छ ।

आजको आजै श्रम स्वीकृति चाहिनेका लागि प्रत्येक दिन बिहान ११ बजे र भोलिपल्ट श्रम स्वीकृति लिन पर्नेहरूका लागि प्रत्येक दिन दिउँसो साढे ३ बजे श्रम स्वीकृतिका लागि टोक खुल्ला गरिने गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचलका सूचना अधिकारी वसन्तबहादुर बोहराले जानकारी दिएका छन् ।

यो व्यवस्था भएपछि तत्काल श्रम स्वीकृति लिन खोज्नेहरूले पनि श्रम स्वीकृति नपाउने समस्या हटेको विभागको दाबी छ । कतिपयको आज या भोलिकै टिकट हुने र अन्तिम समयमा आएर श्रम स्वीकृति गर्न खोज्दा टोकन नै पाउने समस्या भएपछि टोकन व्यवस्थापन गरेको सूचना अधिकारी बोहराको भनाइ छ ।

विदेश जानका लागि कुनै दिन बेलुकाको हवाई टिकट भएको अवस्थामा बिहान ११ बजे श्रम स्वीकृतिका आवेदन दिन सकिने जनाइएको छ । यस्तै भोलिपल्ट श्रम स्वीकृति लिँदा हुने अनि पर्सिको दिनको टिकट भएको अवस्थामा भोलिपल्टको टोकन चाहिँ दिउँसो साढे तीन बजे खुल्ने भएकाले त्यही बेला आवेदन दिन सकिने विभागले जनाएको छ ।

पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनबाट नै लिन सकिन्छ । अनलाइनबाट श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार विभागले छुट्टै अनलाइन प्रणाली विकास गरेको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत श्रम स्वीकृतिका लागि आवेदन दिन सकिन्छ ।

नयाँ, व्यक्तिगत श्रम स्वीकृति होस् या वैदेशिक रोजगारीमा गइसकेकाले श्रम नवीकरण गर्दा होस् सबैभन्दा पहिला अनलाइनमार्फत सबै कागजात र प्रक्रियासहित आवेदन दिनुपर्छ । कल्याणकारी कोष र बिमाको रकमसमेत तिरेपछि मात्रै अनलाइन आवेदन दिन मिल्छ ।

अनलाइनबाट आवेदन दिँदा नै उपलब्ध टोकनहरू मिति अनुसार देखाउँछ । आफूलाई आवश्यक पर्ने मितिमा क्लिक गरेर आवेदन दिन सकिन्छ । तर विदेश उड्ने अन्तिम दिन श्रम स्वीकृति लिन खोज्दा भने पहिले नै टोकन प्याक हुने र नपाउने समस्या थियो ।

यही समस्यालाई सहजीकरण गर्न आजको आजै लिन पर्नेहरूका लागि दैनिक एक सय र भोलि पल्ट लिनेहरूका लागि २८० टोकन छुट्टाइएको सूचना अधिकारी बोहराले बताए ।

तर अन्तिम समयमा श्रम स्वीकृति लिन खोज्दा समस्या हुन सक्छ । कहिलेकाहीँ कागजात नमिल्न या नपुग्न पनि सक्छ । त्यसैले बिदामा नेपाल आउनासाथ श्रम स्वीकृति भने गरिहाल्न उनको अनुरोध छ ।

28
Shares
१९ पुष २०७९, मंगलवार ०७:२२