सांसदहरुले शपथग्रहण गरिसकेका छन् । प्रदेशसभाको पहिलो बैठक आइतबार बसिसकेको छ ।
नवनिर्वाचित सांसदहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमको समापनका त्रममा सांसदरुले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रुपले गर्ने बताए ।नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारीले पहिलो कार्यकालमा प्रदेशले नाम पाउन नसक्दा पनि संघीयता विरोधीले प्रश्न उठाएको भन्दै उनले अब सबै दलहरुले सहमतिमा प्रदेशको नामकरण चाँडै गर्नुपर्ने बताए ।
नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रादेशिक संरचना गलत हैन भन्ने स्थापित गर्न प्रदेशसभाको चुनौति रहेको बताए । प्रभावकारी कानुन बनाउन र बनेका कानुन कार्यान्वयन गराउँदै सरकारको निगरानी गर्न सके प्रदेशमा विकासले फड्को मार्ने उनको भनाइ छ ।माओवादी केन्द्रका नेता दुर्गाप्रसाद चापागाँईले निर्वाचित भएका सबै दलका सांसदहरुले ५ वर्ष चनाखो भएर काम गर्नसके प्रदेश गलत हो भन्नेहरु आफैं गलत साबित हुने बताए । प्रदेशको औचित्य सार्थक बनाउने चुनौति सामना गर्न परिवर्तनको लागि सहकार्य गरेका दलहरुबीचको सहकार्य आवश्यक हुनेमा उनको जोड छ ।
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, एकीकृत समाजवादीका नेता कमलप्रसाद जबेगु र जनता समाजवादीकी निर्मला लिम्बूले विकासका लागि सबै दलहरु एक हुनुको विकल्प नभएको बताए । नयाँनिर्वाचित ९३ जना सांसदहरुलाई विराटनगरमा भेला गरि प्रदेशसभा सचिवालयले अभिमुखीकरण गराएको थियो ।