विराटनगर । विराटनगरको ट्राफिक चोकमा आज आइतबार मारवाडी युवा मञ्चले राष्ट्रिय टोपी दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्यो ।

नेपालीहरुको पहिचान ढाका टोपी लगाएर अंग्रेजी नयाँ वर्षको पहिलो दिन दिवसको रुपमा मनाउने गरिएको छ ।

यस अवसरमा बालबालिका, युवादेखि वृद्धवृद्धासम्मले नेपाली टोपी लगाएर दिवस मनाएका छन् ।

कार्यक्रम आयोजक मारवाडी युवा मञ्चका अध्यक्ष जय शर्माका अनुुसार नेपालीहरुको शिरको शानका रुपमा रहेको ढाका टोपी लगाउन चलन अचेल कम हुँदै गएकाले पहिचान कायम राख्न दिवस आयोजना गरिएको हो ।

नेपाली टोपीलाई विश्वव्यापी रुपमा पहिचान दिलाउने उद्देश्यका साथै नयाँ पुस्तामाझ पनि यसको महत्व बुझाउन दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

युवा पुस्ताले अचेल नेपाली मौलिक टोपी लगाउन लाज मान्ने र हिच्किचाउने गरेको भन्दै तर पहिचान कायम राख्न सबैले यसलाई महत्व दिनुपर्ने शर्माले बताए ।

कार्यक्रममा टोपी लगाएर हजारभन्दा बढीले सहभागिता जनाएका थिए ।

केही वर्ष अघिदेखि सुरु भएको यो दिवसका क्रममा नेपालभरि विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका थिए ।

यसैगरी विदेशमा बस्ने नेपालीहरुको संस्थाले पनि टोपी दिवसलाई हर्षोल्लासका साथ मनाएका छन् ।

693
Shares
१७ पुष २०७९, आईतवार १८:३४