महान् फुटबल खेलाडी पेलेको निधन, युक्रेन-रसिया युद्ध, इरान आन्दोलन, चीन-ताइवान तनाव र बेलायती महारानी एलिजाबेथको निधनदेखि दक्षिण एसियाको उथल पुथलसम्म सन् २०२२ का प्रमुख घटना हुन् ।
वर्षको अन्त्यमा फुटबलका महान् खेलाडी पेलेले संसार छाडेर गए । सन् २०२२ लाई कोभिडको महामारीबाट मुक्त वर्षका रुपमा हेरिए पनि यस वर्षको अन्त्यमा चीनमा फेरि कोरोना संकट देखिएको छ ।यस वर्ष विश्वको जनसंख्या आठ अर्बभन्दामाथि पुगेको छ । इजिप्टमा सम्पन्न जलवायु सम्मेलन कोप–२७ मा गरीब तथा विकासोन्मुख राष्ट्रलाई जलवायुजन्य विपत्तिले पुर्याएको हानिको क्षतिपूर्ति दिन हानि तथा नोक्सानी कोष स्थापना भएको छ ।
सन् २०२२ को फेब्रुअरीदेखि सुरु भएको रुस-युक्रेन युद्ध जारी छ । यो युद्धमा एकातिर परमाणु आक्रमणको धम्की दिने शक्तिराष्ट्र रुस छ भने अर्कातिर अमेरिकाको आडमा लडिरहेको युक्रेन छ ।अमेरिकाको साथ पाएर रुसी आक्रमणको प्रतिकार गरिहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पश्चिमा मुलुकले एक नायकका रुपमा उभ्याएका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हिटलरपछिको विश्व खलनायकका उभ्याइएको छ ।
हाल विश्वभर खाद्यान्न अभाव र मृल्यवृद्धि उच्च छ । सम्भावित परमाणु युद्धको त्रास बढेको छ । दुवै पक्षमा हजारौं सैनिक र सर्वसाधारण मारिएका छन् । करिब ७९ लाख मानिस छिमेकी देशमा शरणार्थीका रुपमा विस्थापित भएका छन् ।
विश्वका अधिकांश देशमा यस वर्ष कोरोना महामारी प्रायः समाप्त भयो । चीन भने यसको अपवादका रुपमा रह्यो, शून्य कोभिड नीति अपनाइरहेको चीनले वर्षको अन्त्यतिर व्यापक जनदबाबपछि प्रतिबन्धहरु खुकुलो मात्रै के पारेको थियो, ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ सेभेनको संक्रमण द्रुत गतिमा फैलिएपछि विश्व समुदाय पुनः झस्किएको छ ।
यस वर्षको अन्त्यमा चीनमा फेरि कोरोना संकट देखियो । यो वर्ष ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव उत्पन्न भयो ।
गत अगस्तमा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले ताइवान वरिपरिको समुद्रमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गर्यो ।
त्यसमाथि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकी सेना अगाडि आउने राष्ट्रपति बाइडेनको भनाइले आगोमा घिउ थप्यो । तर, तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति बाइडनबीच नोभेम्बरमा इन्डोनेसियामा भएको भेटवार्ताले विश्व समुदायलाई केही शान्ति दिएको छ ।
यो वर्ष कोरियाली प्रायद्वीप पनि अशान्त रह्यो । सातौं परमाणु परीक्षणको तयारी गरिरहेको उत्तर कोरियाले सर्वाधिक ९२ वटा क्षेप्यास्त्र परीक्षण गरेर रेकर्ड नै बनायो ।
सर्वाधिक लामो समयसम्म बेलायतको गद्दीमा आसीन महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा सेप्टेम्बर ८ मा निधन भएपछि उनका ७३ वर्षीय छोरा चार्ल्स तृतीय नयाँ राजा बने । यही वर्ष चरम राजनीतिक अस्थिरताबाट गुज्रिरहेको बेलायतमा भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक प्रधानमन्त्री बने ।
इरानमा जारी १९७९ यताकै अभूतपूर्व विरोध प्रदर्शनले त्यहाँको धार्मिक सत्तालाई विचलित बनाएको छ । हिजाब राम्ररी नलगाएको आरोपमा गिरफ्तार गरिएकी २२ वर्षीया युवती महसा अमिनीको गत सेप्टेम्बरमा प्रहरी हिरासतमै मृत्यु भएपछि देशव्यापी रुपमा फैलिएको विरोध प्रदर्शनले त्यहाँको सत्तालाई हल्लाइदिएको हो ।
इरानी सत्ताले विरोध प्रदर्शनमा संलग्न दुई जनालाई सार्वजनिक स्थलमै झुन्ड्याएर मृत्युदण्ड दिएको छ भने कम्तिमा २६ जनाले उस्तै दुर्भाग्यको भोग्नुपर्ने सम्भावना छ ।
दक्षिण एसियाको राजनीतिक उथलपुथलको कुरा गर्दा चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा राजपाक्षे परिवारको कुशासनको विरोधमा व्यापक जनप्रदर्शनपछि जुलाई १३ मा तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर माल्दिभ्स हुँदै सिंगापुर पुगे भने रनिल विक्रमासिंघे नयाँ राष्ट्रपति बने ।
यो वर्ष पाकिस्तानको राजनीति पनि अस्थिर रह्यो । अप्रिलमा संसदले अविश्वास प्रस्ताव पारित गर्दै प्रधानमन्त्री इमरान खानलाई पदमुक्त गर्यो भने सहबाज सरिफ देशको नयाँ प्रधानमन्त्री बने ।
अफगानिस्तानमा तालिबान सरकारले आफ्नो पूर्वप्रतिबद्धता विपरीत महिला तथा बालिकाको शिक्षा, रोजगारी तथा अन्य स्वतन्त्रतामा विभिन्न प्रकारको प्रतिबन्ध लगाएर विश्व समुदायलाई निराश बनायो ।
अमेरिकाका अर्बपति व्यवसायी एलोन मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरेपछि अभिव्यक्ति स्वतन्त्रता खतरामा परेको आशंका गरिएको छ ।
वर्ष २०२३ मा रुस युक्रेन युद्ध समाप्त भएर विश्व शान्तिको मार्गमा अघि बढेको सबैले हेर्न चाहेका छन् । आर्थिक मन्दीबाट विश्व समुदाय जोगियोस् भन्ने कामना पनि सबैले गरिरहेका छन् ।
समस्त पाठक, दर्शक, स्रोता र शुभचिन्तकहरुमा एएमजी टाइम्सको तर्फबाट अंग्रेजी नयाँ वर्षका अवसरमा मंगलमय शुभकामना ।