विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा पराजित बनेका अमृत अर्यालले पराजयको दोष पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् ।

संसदीय दलको नेता छान्न शुक्रबार भएको निर्वाचनमा पार्टीको केन्द्रीय सदस्य रहेका अर्यालले २ मत मात्रै पाएका थिए ।

शनिबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै पराजयको दोष केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री कार्कीलाई दिएका हुन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ५ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित अर्यालले कार्कीलगायत नेताको असहयोगका कारण आफू पराजित हुनु परेको बताए ।

‘पार्टीका केही नेता लागेर मलाई हराए । मेराविरुद्ध कार्कीले गरेको डिजाइन र गतिविधिको प्रमाण छ । भ्वाइस रेकर्ड पनि छ,’ उनले भने, ‘समय आएपछि सार्वजनिक गर्ने छु । अरुपनि नेताहरु मलाई हराउन लागेका थिए । सबैको नाम लिन चाहन्न’ उनले भने ।

‘मलाई संघमा उठ्ने इच्छा थियो । तर, पार्टी सभापति शेरबहादुर देउवा लगाएका नेताबाट प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन आयो । सबैले प्रदेश सम्हाल्नुपर्छ भन्ने सल्लाह दिए,’ अर्यालले भने, ‘त्यसलाई स्वीकार गर्दै संघ छाडेर प्रदेशमा आएको मलाई जनताले चुनाव पनि जिताए । घटनाक्रम अनुसार गठबन्धनकै सरकार बन्ने परिस्थिति थियो । तर, व्यवस्थापन पक्ष मिलाउन नसक्दा गठबन्धन टुटेर त्यो अवस्था रहेन ।’

अर्यालले गठबन्धन टुट्नुको दोष पनि कार्कीमाथि नै लगाएका छन् । प्रवक्ता भएको हिसाबले गठबन्धनलाई जोगाउन नसक्नुको जवाफ कार्कीले दिनुपर्ने उनको जिकिर छ ।

संसदीय दलको नेतामा आफू पराजित हुने र आफ्नो माहोल बिग्रिएको कुरा चार दिनअघि नै थाहा पाएको जिकिर उनको छ ।

‘दलको नेता बन्न माथिबाटै असहयोग हुने बुझेपछि चार दिनअघि मैले ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटें । उम्मेदवार बन्न आवश्वासन लिएर फर्किएँ,’ अर्यालले भने, ‘दलको नेता बन्ने भएपछि जनतामा पनि एउटा आशा पलाएको थियो । तर, असहयोग गरेर हराउने काम भयो ।’

चुनाव हार्ने थाहा हुँदाहुँदै पनि आफू उम्मेदवार बनेको दाबी उनले गरे । ‘जित्नका लागि म उठेको हैन । मेरो उम्मेदवारी विद्रोहको प्रतीक हो,’ अर्यालले भने, ‘कार्यकर्तामाथि भइरहेको अन्यायविरुद्ध मसाल उठाएको हुँ । यस्तो अन्याय कांग्रेसमा मात्रै हैन, अरु पार्टीमा पनि हाबी छ ।’

अर्यालले पराजित हुने निश्चित भएका बेला पनि दलको नेतामा उम्मेदवारी दिएर पार्टीभित्रको अन्यायविरुद्ध प्रतिकात्मक झण्डा उठाएको दाबी गरे ।

अर्याल संस्थापन अर्थात पार्टी सभापति देउवा पक्षधर हुन् । प्रदेशसभामा रहेका कांग्रेसका २९ सांसदमध्ये उनको पक्षमा ११ जना सांसद रहेको दाबी गरिएको थियो । तर, दलको नेतामा भने २ मत मात्रै ल्याएर अर्यालले लज्जास्पद हार बेहोरे ।

उनको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनीताकुमारी गुरुङ थिए । तीमध्ये गुरुङले मत नदिएको उनको अनुमान छ ।

दलको नेतामा समानुपातिक सांसद उद्धव थापा १८ मतसहित निर्वाचित भएका छन् । पार्टीका नेता कृष्णप्रसाद सिटौला पक्षधर थापा कांग्रेसको प्रदेश सभापतिसमेत हुन् । ९ जना सांसद मात्रै आफ्नो पक्षमा रहेको दाबी गरिरहेको सिटौला पक्ष संसदीय दलको नेतामा चुनाव जित्न सफल भएको थियो ।

दलको नेतामा उम्मेदवारी दिएकामध्ये प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले ९ मत पाएका थिए । उनी पार्टीभित्र डा. शेखर कोइराला पक्षधर हुन् ।

21
Shares
१६ पुष २०७९, शनिबार १९:४९