काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घटनाको अनुसन्धानका लागि डीआईजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको बताए ।

डीआईजी सिंह प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत छिन् ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम गठित समितिमा सीआईबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी छन् ।

यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सीआईबी नै खटिएकाले पनि सीआईबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता राईले जानकारी दिए।

गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम् पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिएका थिए ।

२०७५ साल साउनमा पन्तको बलात्कारपछि हत्या गरिएको थियो । अहिलेसम्म त्यस घटनाका दोषी पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढीको डीएनए परीक्षणसमेत गरिसकेको छ ।

42
Shares
१६ पुष २०७९, शनिबार ०९:०८