सेनाले प्रजातन्त्रिक सरकार अपदस्थ गरेसँगै नेतृ सुकी २०२१ देखि नजरबन्दमा थिइन् । त्यसयता उनीविरुद्ध १८ महिनामा १९ वटा आरोपमा मुद्दा चलाइएको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गत हप्ता मात्रै उनको रिहाइको माग गरेको थियो । उनलाई पछिल्ला पाँच अभियोगमा शुक्रबार थप सजाय सुनाइएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।सरकारी मन्त्रीका लागि हेलिकप्टर भाडामा लिँदा नियम पालना नगरेको भन्दै अदालतले उनलाई भ्रष्टाचार गरेको ठहर गरेको थियो । सुकी यसअघि नै १४ विभिन्न मुद्दामा दोषी ठहर भइसकेकी छन् ।
उनीमाथि कोभिड सुरक्षा नियमहरूको उल्लंघन, वाकीटकीहरूको आयात र आधिकारिक गोप्य कानुनको मिचेको लगायतका आरोप लगाइएको छ ।यसपटक उनको मुद्दाको सुनुवाइमा बन्द कोठामा भएको थियो । जहाँ जनता र मिडियाको पहुँचमा प्रतिबन्ध लगाइएको थियो । उनीहरूका वकिलहरूलाई पत्रकारहरूसँग बोल्नसमेत प्रतिबन्ध लगाइएको थियो ।
सुकीले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी छन् । ७७ वर्षीया उनी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ हुन् ।