पोखरा । पोखरा रंगशालामा बुधबार भएको खेलमा कासेरेन्योले गण्डकी ११ लाई ३-० ले पराजित गरेको हो । अब, टोलीले बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं ११ सँग खेल्नेछ ।

‘शान्तिका लागि फुटबल’ नाराका साथ दुई मैत्रीपूर्ण खेलमा कासेरेन्योले सुखद् सुरुवात गर्ने क्रममा टोलीका कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बर्मुले गोल गरे । खेलको २३औं मिनेटमा कार्मेलो मोराले गोल गर्दै स्पेनिस टोलीलाई अग्रता दिलाएका थिए । कार्मेलोले ‘सिक्स याड बक्स’बाट गरेको प्रहार गण्डकीका गोलरक्षक दीप कार्कीले बचाउन सकेनन् ।

२९औं मिनेटमा मिगुएल एन्जल कारिलेरो गोन्जालेजले गोल गर्दै अग्रता २-० को बनाए । गोन्जालोले पेड्रोको ब्याकपासलाई सदुपयोग गरेका थिए । खेलको ८९औं मिनेटमा बर्मुले तेस्रो गोल गरे । एल कौनीको कर्नर बल रोक्न जाँदा गोलकिपर राजाबाबु गुरुङले बल नियन्त्रण गुमाए । मौकाको फाइदा उठाउँदै क्यासेरेनोका बर्मुले ट्याप इन गोल गरे ।

कास्की जिल्ला फुटबल संघसँगको समन्वयमा लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गरेको खेलमा स्थानीय टोलीको कप्तानी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गरेका थिए । नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्न कासेरेन्योको ५० सदस्यीय टोली मंगलबार आइपुगेको थियो ।

आगामी जनवरी ४ मा स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गतको खेलमा रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको स्पेनिस टोलीले भोलि बिहीबार काठमाडौंको दशरथ रंगशालामा काठमाडौं ११ सँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । काठमाडौं टोलीको नेतृत्व नेपाली राष्ट्रिय फुटबल टिमका अर्का कप्तान विराज महर्जनले गर्नेछन् भने प्रशिक्षकको जिम्मेवारीमा मेघराज केसी रहनेछन् ।
98
Shares
१३ पुष २०७९, बुधबार २१:५३