विराटनगर । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेका नेता कार्यकर्ताको सूची माघ १५ गतेसम्म पठाउन निर्देशन दिएको छ ।

यसअघि पुस १५ गतेसम्म त्यस्तो सूची पठाउन भनिएको थियो । सूची पठाउने अवधि बढाएर कांग्रेसले मातहतका समितिहरुलाई निर्देशन दिएको हो ।

पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरी असहयोग गरेको उजुरीका सन्दर्भमा आवश्यक निर्णय गरी केन्द्रमा पठाउन कांग्रेस केन्द्रीय अनुशासन समितिले आज बुधबार निर्देशन दिएको हो ।

यसअघि कांग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेको पनि सूची पठाउन भनेको थियो । पुस १० मा गठबन्धन भत्किएपछि कांग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेलाई माफी दिने संकेत देखिएको छ ।

कांग्रेसद्वारा जारी विज्ञप्तिमा गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेहरुबारे कुनै उल्लेख गरिएको छैन ।
7
Shares
१३ पुष २०७९, बुधबार १५:१४