विराटनगर । खेलकुद क्षेत्रमा लामो समय बिताएर योगदान गरेका दुई जनालाई विराटनगरमा सम्मान गरिएको छ । प्याब्सन विराट कप फुटबल प्रतियोगिता २०७९ को समापन समारोहका क्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
समानित हुनेमा जितेन्द्रकुमार साह (जितु) र दिपेन्द्र धिमाल छन् ।१६ वर्षेकै उमेरमा राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका जितु हाल मिल्स एरियामा सञ्चालित मिल्स गोल्डकपको ‘ग्रास रुट ट्रेनिङ सेन्टर’ का मुख्य प्रशिक्षकका रुपमा कार्यरत छन् ।
२०४५ सालमा नर ट्रफी नेशनल प्रथम, काठमाडौंमा वर्थडे कप, त्रिभुवन च्यालेन्ज शिल्ड, महेन्द्र गोल्डकप, झापा गोल्डकप खेलेका थिए ।२०४६ सालमा नेपाल प्रहरीमा प्रबेश गरी आइजीपी शिल्ड १२ वर्ष सम्म लगातार खेलेका उनले हरदवी गोल्डकप, वीरगञ्जमा अमात्य गोल्ड कप, इलामको माइभ्याली स्मृति कप, अनारमनीगोल्डकप जस्ता प्रतियोगितामा खेलिसकेका छन् ।
यसैगरी नेपाल र भारतको विभिन्न प्रतियोगितामा उनी सहभागी भएका छन् ।
जितुले २०७१ सालमा प्रहरी ट्रेनिङ सेन्टरमा स्पोर्टस एडभान्स तालिम लिएका थिए । २०७३ सालमा एएफसीबाट फुटबल प्रशिक्षकको लाइसेन्स उनले प्राप्त गरेका थिए ।
प्रहरीमा हुँदा युएन मिसन कार्यक्रमको सिलसिलामा हाइटीमा शान्ति सेनाको रुपमा पनि उनले काम गरेका थिए ।
२०६९ साल देखि प्रदेश नम्बर १ को प्रहरी कार्यालयको फुटबल टिम प्रशिक्षक भई ५ वर्षसम्म विभिन्न प्रतियोगिता जित्न सफल हुन भएका थिए । प्रहरीबाट सेवानिवृत भएपछि मिल्स एरियामा सञ्चालित मिल्स गोल्डकपको ग्रासरुट ट्रेनिङ सेन्टरको मुख्य प्रशिक्षकका रुपमा काम गरिरहेका हुन् ।
अर्का सम्मानित व्यक्तित्व दिपेन्द्र धिमाल १० वर्षकै कलिलो उमेरदेखि फुटबल खेल्दै आएका हुन् ।
मोरङको उर्लाबारीमा २०२५ सालमा जनमेका धिमाल मोरङ जिल्ला, कोसी अञ्चल क्षेत्रीय र राष्ट्रिय खेलाडीका रुपमा परिचित छन् ।
क्षेत्र र राष्ट्रिय स्तरका ए डिभिजनका क्लबहरु थ्री स्टार, जनकपुर चुरोट कारखानाका साथै भारतको विभिन्न क्लबहरुबाट उनले फुटबल खेलेका छन् ।
मोरङ जिल्ला फुटबल संघको एक कार्यकाल महासचिव, ३ कार्यकाल अध्यक्षको भूमिका उनले निर्वाह गरेका थिए । धिमाल हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्य छन् ।
उनले महिला, पुरुष तथा उमेरगत फुटबल समूहको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेका छन् ।
उर्लाबारी फुटबल क्लबलका संस्थापक अध्यक्ष रहेका उनी फुटबलकै सिलसिलामा इरान, थाइल्याण्ड, अष्ट्रेलिया र भुटान पुगेका छन् ।