विराटनगर । प्रदेश १ का सांसदहरुले सोमबार शपथग्रहण गरेका छन् । ज्येष्ठ सदस्य गयानन्द मण्डलबाट उनीहरुले शपथ लिएका हुन् । त्यसअघि प्रदेश प्रमुखबाट मण्डलले पद तथा गोपनीयताको शपथ लिएका थिए । सांसदहरुले शपथ लिएसँगै सरकार गठनबारे चर्चा र चासोसँगै दलहरुमा आन्तरिक छलफल सुरु भएको छ ।

प्रदेश १ को मुख्यमन्त्री को बन्ला भन्ने जिज्ञासा रहँदा नयाँ गठबन्धनका दुई मुख्य दल नेकपा एमाले र माओवादी केन्द्रले आ–आफ्नै दाबी गरिरहेका छन् ।

प्रदेश १ को प्रदेश सभामा एमाले पहिलो पार्टी हो भने माओवादी तेस्रो पार्टीका रूपमा छ । एमालेले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने बताएको छ । यसका लागि संसदीय दलका नेता हिक्मतकुमार कार्की सम्भावित मुख्यमन्त्रीका रुपमा छन् ।

पूर्वमन्त्री रहेका कार्कीलाई आइतबार दलको नेता चयन गरिएको छ । दलको नेता चयन भएसँगै कार्कीलाई मुख्यमन्त्री बन्न बाटो खुला भएको हो ।

गठबन्धनमा सहमतिपछि एमालेको नेतृत्वमा सरकार निर्माण भए कार्की मुख्यमन्त्री बन्ने निश्चित भउको छ । एमालेले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्न कार्कीकै संयोजकत्वमा ५ सदस्यीय बनाएको छ।

शपथग्रहणपछि कार्कीले एमालेकै नेतृत्वमा प्रदेश सरकार बन्ने बताएका छन् ।

उता, माओवादी केन्द्रले पनि सरकारको नेतृत्वमा दाबी गरिरहेको छ । माओवादीका पोलिटब्युरो सदस्य एवं प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुलुकमा दलहरूको गठबन्धन रहेकाले प्रदेश सरकारको नेतृत्व माओवादीले लिन पाउनुपर्ने बताएका छन् ।

मुलुकको सत्ता समीकरणका लागि दलहरूबीच नयाँ गठबन्धन बनेकाले प्रदेश १ सरकारको नेतृत्वमा आफूहरुको दाबी रहने उनको भनाइ छ ।

माओवादीले प्रदेशमा संसदीय दलको नेता चयन गर्न भने बाँकी छ । संसदीय दलको नेताका लागि आङ्बोसहित २ जना आकांक्षी छन् ।

तेह्रथुमको ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित पार्टीका पोलिटब्युरो सदस्य दुर्गाप्रसाद चापागाईंले पनि संसदीय दलको नेतामा दाबी गरिरहेका छन्।

माओवादी संसदीय दलको पहिलो बैठक मंगलबारका लागि बोलाइएको छ। उक्त बैठकबाट दलको नेता चयन गरिने सम्भावना छ ।

प्रदेशसभामा एमालेका ४० जना सांसद छन्। नेपाली कांग्रेसका २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना सांसद छन् । माओवादीका १३ जना प्रदेश सांसद छन्।

९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ।

70
Shares
१२ पुष २०७९, मंगलवार १०:१८