काठमाडौं । पोखरामा मंगलबारदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा १२ इभेन्टमा प्रतिस्पर्धा हुने सङ्घका अध्यक्ष सुशीलकुमार श्रेष्ठले बताए । प्रतियोगितामा काठमाडौं, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाहीलगायत २५ जिल्लाबाट तीन सयभन्दा बढी खेलाडीहरु सहभागी हुँदैछन् ।

प्रतियोगिताको खुला पुरुष एकल तथा डबल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी त्यही इभेण्टमा द्वितीय हुनेलाई ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने छ ।

प्रतियोगिता अन्तर्गत महिला एकल तथा डबल, मिक्स डबल, ३५ वर्षमाथिको डबल पुरुष उमेर समूह, ४५ वर्षमाथि डबल पुरुष, ५५ वर्ष माथि डबल पुरुषतर्फको विधामा विजेता टोलीहरुले जनही ३० हजार रुपैयाँ, उपविजेताले जनही २० हजार र तेश्रो हुनेले जनही १० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् ।

जुनियर खेलाडीहरुको प्रोत्साहन गर्ने उद्देश्यले १२ वर्षमुनिका खेलाडीहरु सहभागी ९यु—१२० र १७ वर्ष मुनिका खेलाडीहरु सहभागी (यु—१७) पुरुष तथा महिला तर्फको विधामा प्रतिष्पर्धा हुनेछ ।

यस इभेण्टमा विजेता खेलाडीले जनही १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेलाई पाँच हजार रुपैयाँ नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् ।

42
Shares
१२ पुष २०७९, मंगलवार ०८:२२