स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो र दोस्रो पूर्ण खोप लगाई बुस्टर डोज लगाएकालाई थप डोज दिने तयारी गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ–७ को सङ्क्रमण छिमेकी देश भारत र चीनमा बढिरहेकाले नेपालमा उक्त सङ्क्रमण भित्रिन नदिन सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन्।उनका अनुसार नेपालमा हालसम्म बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावतका कारण जोखिम छ।
मन्त्रालयले मापदण्ड तोकेका ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीलगायतलाई प्राथमिकतामा राखेर यसअघि खोपको बुस्टर मात्रा लगाएकालाई थप मात्रा दिने जनाइएको छ ।अहिले दुई मात्रा लगाएकालाई दिने बुस्टर मात्रा खोपका लागि १५ लाख डोज मगाइएको र दुई हप्तापछि खोप आउने मन्त्रालयले जनाएको छ।
छिमेकी देशमा देखिएको बीएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउन गृहमन्त्रालयले समेत सबैमा आग्रह गरेको छ।
सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत मन्त्रालयले सबैमा आग्रह गरेको छ।