काठमाडौं । हिमाली क्षेत्रका लामा समुदायको तोतङरी ल्होसार अर्थात् नयाँ वर्ष २१५० सुरु भएको छ ।

पुस कृष्ण चतुर्दशीका दिनदेखि मनाउने गरिए पनि तोतङरी ल्होसार अर्थात् नयाँ वर्ष पर्व भने पुस शुक्ल प्रतिपदाबाट विविध कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ । शनिबारबाट नयाँ वर्ष सुरु भएको हो।

तोतङरी ल्होसार पर्व पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतको रुपमा मनाउने गरिन्छ । ल्होतर पात्रो (लामा समुदायको पात्रो) अनुसार पुष शुक्ल प्रतिपदा शनिबारदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ ।

पूर्वको सोलुखुम्बुदेखि चीनको स्वशासित तिब्बतको डिघर्चीसम्म हिमाली क्षेत्रमा बसोबास गर्ने लामा भोटे र व्यासी समुदायमा यो पर्व प्रचलित छ । हरेक वर्ष पुस शुक्ल प्रतिपदाका दिनदेखि मनाइने चाड लामा र व्यासी जातिको मुख्य पर्व हो ।

यो पर्व वसन्त पञ्चमीसम्म मनाइने गरिन्छ । हुम्लाका लामा समुदायले ल्होसार अर्थात् नयाँ वर्ष धुमधामको साथ मनाइरहेका छन् ।

नयाँ वर्षका अवसरमा बौद्ध धर्मावलम्बीको एकता स्वरुप मनाइने यो पर्वमा हरेक घरको अगाडि खडा गरिने लिंगो फेर्न, घरमा पूजा गर्ने, मीठो खाने र पाहुनालाई बोलाएर स्वागत गर्ने चलन हुन्छ ।

अन्य (सोनाम, तमु र ग्याल्बु) ल्होसारमा नेपाल सरकारले सार्वजनिक बिदा दिने गरे पनि तोतङरी ल्होसारमा सरकारले सार्वजनिक बिदा नदिई हिमाली क्षेत्रमा बसोबास गर्ने लामा र व्यासी समुदायलाई सरकारले विभेद गरेको लामा र व्यासी समुदायका अगुवाहरुको भनाइ छ ।

तोतङ्‌री ल्होसारको अवसरमा सरकारले विभेद गरे पनि अब आउँदा दिनमा कर्णाली प्रदेश सरकारले यो ल्होसारमा सार्वजनिक बिदा घोषणा गरेर हिमाली क्षेत्रमा बसोबास गर्ने लामा र व्यासी समुदायको सम्मान गर्ने लामा समुदायका अगुवाको भनाइ छ ।

49
Shares
१२ पुष २०७९, मंगलवार ०६:१८