सोमवार शपथ ग्रहणपछि पदभार सम्हाल्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलो निर्णयका रूपमा निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति हुन सकेको छैन ।सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ गृह मन्त्रालय भएको बताउँदै लामिछानेले त्यही भएर आफूले यही मन्त्रालय रोजेको प्रतिक्रिया दिएका छन् ।
आफूले सञ्चारकर्मीका रूपमा काम गर्दा गृह मन्त्रालयको बारेमा सबैभन्दा धेरै गुनासो आउने गरेको उनले सुनाए ।मन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
स्वतन्त्र भएर त्यो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।