विराटनगर । प्रदेश १ का नवनिर्वाचित सांसदहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

विराटनगरस्थित प्रदेशसभा हलमा शपथग्रहण गरिएको हो । जेष्ठ सांसद गयानन्द मण्डलले ९२ जना सांसदलाई शपथग्रहण गराएका थिए ।

त्यसअघि मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथग्रहण गरेका थिए ।

प्रदेश १ मा ९३ जना सांसद छन् । प्रदेशसभामा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन् ।

मंसिर ४ गतेको निर्वाचनमार्फत प्रदेश १ मा नेकपा एमालेले ४०, नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले १ सिट प्राप्त गरेका छन् ।

सांसदहरुले शपथग्रहण गरेसँगै अब सरकार गठनका लागि छलफल हुने भएको छ । केन्द्रमा एमाले नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै अब यही गठबन्धनमा आबद्ध दलहरु मिलेर सरकार बनाउनेछन् ।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले गठबन्धनमा आबद्ध दलहरु मिलेर सरकार बनाउने उल्लेख गर्दै त्यसको नेतृत्व एमालेले गर्ने बताए ।

35
Shares
११ पुष २०७९, सोमबार १५:२०