विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

प्रदेससभा सदस्यको शपथग्रहणपछि उनले एएमजी टाइम्ससँग कुरा गर्दै यस्तो बताएका हुन् ।

संसदीय दलको नेताको हैसितमा आफूले संसदमा नेतृत्वदायी भूमिका खेल्ने पनि उनले बताए ।

नेपालको राष्ट्रिय राजनीतिमा हिजो आइतबार नयाँ घटना विकसित भएको उल्लेख गर्दै उनले एमालेसहित ६ दलीय नयाँ गठबन्धन बनेकाले अबको केन्द्रीय र प्रदेश सरकार पनि त्यसैअनुसार बन्ने बताए ।

माथि जस्तो सहमति भए पनि ठिक त्यस्तै खाले प्रकृतिको प्रदेशमा झल्कनुपर्छ भन्ने नरहेको भन्दै कार्कीले तर प्रदेशसभामा पनि त्यही अनुसार सहमति बन्न सक्ने उल्लेख गरे ।

त्यसैअनुसार सहमति बन्यो भने नेकपा एमालेकै नेतृत्वमा प्रदेश सरकार बन्ने उनको भनाइ छ ।

नयाँ गठबन्धनका आधारमा ६० सिट हुने भएकाले प्रदेश सरकार बनाउन सहज हुने उनले बताए ।सरकार निर्माणपछि प्रदेशको विकासका लागि आफूहरुले गम्भीरतासाथ काम गर्ने कार्कीले उल्लेख गरे ।

अघिल्लो प्रदेशसभाबाट प्रदेशको नामकरण हुन नसकेको भन्दै उनले यसपटक छलफल गरेर प्रदेशको पहिचान हुने गरी साझा सहमतिका साथ प्रदेशको नाम राख्ने दाबी पनि गरे ।

35
Shares
११ पुष २०७९, सोमबार १४:४८