विराटनगर । प्रदेश १ का प्रदेशसभा सदस्यहरुले आज सोमबार शपथग्रहण गर्दैछन् । दिउँसो १ः३० बजे संसद भवनमा हुने कार्यक्रममा उनीहरुले ज्येष्ठ सदस्य गयानन्द मण्डलबाट शपथग्रहण गर्नेछन् ।

त्यसअघि मण्डलले ज्येष्ठ सदस्यका रुपमा प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथग्रहण गर्ने छन् ।

प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । तीमध्ये ५ जनाले मातृभाषामा शपथ लिने भएका छन् ।

संसद सचिवायलयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार इन्द्रबहादुर आङ्बो, खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङ्गाम र निर्मला लिम्बूले मातृभाषा (यक्थुम र लिम्बू) मा शपथ लिने तय भएको छ ।

इन्द्र पाँचथर ‘ख’, खिनु इलाम १ ‘क’, कमल पाँचथर ‘क’, खगेनसिंह ताप्लेजुङ ‘ख’बाट निर्वाचित सांसद हुन् । निर्मला जसपाकी समानुपातिक सांसद हुन् ।

प्रदेशसभामा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका छन् ।

मंसिर ४ गतेको निर्वाचनमार्फत प्रदेश १ मा नेकपा एमालेले ४०, नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले १ सिट प्राप्त गरेका छन् ।

21
Shares
११ पुष २०७९, सोमबार ०९:३७