डिसेम्बर २५ लाई जिसस क्राइस्टको जन्मदिन मानिन्छ । सन् ३५० देखि यो पर्व मनाउन सुरु भएको पाइन्छ ।
यस अवसरमा इसाई धर्मावलम्बीहरु चर्चमा भेला भएर जिसस क्राइस्टको पवित्र आत्माको प्रार्थना गर्छन् । इसाई धर्मगुरु जिसस क्राइस्टले मानव जातिको मुक्तिका लागि आहुति दिएको सम्झनामा क्रिसमस डे मनाउने गरिन्छ ।‘क्रिसमस डे’ को अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ ।
इसाई धर्मावलम्बीले खुसीयाली, उपहार र शुभकामना साटासाट गरी मनाउने यो पर्वको पूर्वसन्ध्यामा शनिबार साँझ काठमाडौँको ठमेलमा रौनक छाएको थियो। काठमाडौँका ठमेलबाहेक दरबारमार्ग, पुतलीसडक, झम्सिखेल, लाजिम्पाट, नक्साल, बानेश्वरआदि स्थानका होटल, सपिङ मल तथा रेस्टुराँमा क्रिसमस इभलक्षित विभिन्न कार्यक्रमसमेत आयोजना गरिएका थिए ।डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस मनाउन अघिल्लो दिन राति ‘क्रिसमस इभ’ मनाउने चलन छ ।
क्रिसमस आउन सुरु हुनुभन्दा एक हप्ता पहिलेदेखि नै होटल तथा सपिङ सेन्टरमा ‘क्रिसमस ट्री’ सजाएर राखिएको छ ।
विश्वभर धुमधामका साथ क्रिसमस मनाइँदै गर्दा युक्रेनमा भने युद्ध र जाडोले गर्दा यस पर्वको रौनक देखिएको छैन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले विभिन्न चुनौती र रुसको आक्रमणबीच पनि क्रिसमसको आफ्नै सकारात्मक वातावरण सिर्जना गर्ने बताए।
एक भिडियो सन्दश मार्फत देशवासीलाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसलाई आतंकवादी राष्ट्रकोसमेत संज्ञा दिए। यसैगरी चीनमासमेत क्रिसमसको रौनक देखिएको छ। कोरोना भाइरस संक्रमण बढ्दै गर्दा पनि सांघाईका बजारहरुमा क्रिसमस मनाउनेहरुको उपस्थिति बाक्लो छ।