विराटनगर । प्रदेश १ प्रदेशसभा सदस्यहरूको शपथग्रहणका लागि तोकिएको दिनभन्दा अघि हालसम्म कुनै पनि दलले संसदीय दलको नेता चयन गरेका छैनन् । प्रदेशसभा सदस्यहरुको शपथग्रहण पुस ११ गते गर्ने तय भएको छ ।

नेकपा एमालेले भने आज आइतबार दलको नेता चयनको प्रक्रिया अघि बढाउने भएको छ । यसका लागि दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा दलको बैठक बस्ने बताइएको छ ।

प्रदेशसभा सांसद तथा एमाले नेता हिक्मत कार्कीले आइतबारको बैठकबाट दलको नेता चयन हुने बताए ।

प्रदेशसभामा एमालेका ४० जना सांसद छन् । निर्वाचनबाट यो प्रदेशमा एमाले पहिलो पार्टी बनेको छ ।

प्रदेशसभामा दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले शपथग्रहणअघि दलको नेता चयन गर्ने संकेत छैन ।

कांग्रेसले शपथग्रहणकै दिन पुस ११ गते संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस प्रदेश १ का सभापति तथा प्रदेशसभा सदस्य उद्धव थापाले बैठकमा दलको नेता चयनको विषयमा छलफल हुने र चुनावी प्रक्रियाबारे निर्णय हुनसक्ने बताएका छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका २९ जना सांसद छन् ।

नेकपा माओवादी केन्द्रले पनि संसदीय दलको नेता ११ गतेको शपथग्रहण पछि चयन गर्ने जनाएको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शपथग्रहणपछि बस्ने दलको बैठकले सहमतिबाटै नेता चयन गर्ने बताए ।

माओवादी केन्द्रको प्रदेशसभामा १३ जना सांसद छन् ।

राप्रपाले शपथग्रहण पछि दलको नेता चयन गर्ने जनाएको छ । उक्त पार्टीका नेता भक्तिप्रसाद सिटौलाले ११ गतेको शपथपछि मात्रै दलको नेता चयन हुने बताए ।

राप्रपाको प्रदेशसभामा ६ जना सांसद रहेका छन् ।

चार जना सांसद रहेको नेकपा एकीकृत समाजवादीले पनि शपथग्रहण पछि नै दलको नेता चयन गर्ने जनाएको छ ।

जनता समाजवादी पार्टीको भने प्रदेशसभामा एकजना मात्रै सभासद छन् ।

28
Shares
१० पुष २०७९, आईतवार ०७:१४