भारत सरकारले सार्वजनिक रूपमा सतर्कताका उपाय अपनाउन आह्वान गरेको छ ।
स्वास्थ्यमन्त्री मनसुख मान्डवियाले बिहीबार लोकसभामा कोरोनाले आफ्नो रूप बदलेर पुनः तर्साउन थालेकाले सतर्कताको आह्वान गरेका छन् ।उनले पछिल्लो तीन वर्षमा कोरोना भाइरसमा पटकपटक भएको परिवर्तनले खतरा दोहोरिँदै गएको बताए ।
मास्क प्रयोगलाई प्रोत्साहन गर्न प्रधानमन्त्री, मन्त्रीलगायत अरु सरकारी अधिकारीहरु आफैंले मास्क प्रयोग गरिरहेका छन् ।भारतमा पछिल्लो एक वर्षमा कोरोना संक्रमितको संख्या भने निकै घटेको छ । हाल औसत दैनिक १ सय ५३ जना संक्रमित थपिएका छन् ।
चीन, जापान, दक्षिण कोरिया, अमेरिका, फ्रान्सलगायतका देशमा पछिल्लो समय संक्रमण बढेको छ । ती देशको पछिल्लो अवस्थालाई मूल्यांकन गर्दै पुनः सतर्कताको कदम चाल्नुपर्ने स्थिति आएको मान्डवियाको भनाइ छ ।
विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रुको परीक्षण सुरु गरिएको जनाउँदै उनले चाडबाड, भोज भतेरप्रति सतर्कता र मास्क तथा सेनिटाइजरको प्रयोगमा ध्यान दिनुपर्ने बताएका छन् ।
कोभिडको सम्भावित खतरालाई हेर्दै बिहीबार प्रधानमन्त्री मोदीले पनि उच्चस्तरीय बैठक गरेका छन् । गृह र स्वास्थ्य मन्त्रालयका मन्त्री तथा अधिकारीहरूसँग गरिएको बैठकमा कोरोनासँग कसरी लड्ने, आममानिसलाई पुनः सतर्क बनाउने तथा नयाँ निर्देशिका जारी गर्ने विषयमा छलफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
चीनबाट फर्किएका गुजरातका एक युवकमा कोरोना संक्रमण भेटिएपछि सरकार थप सतर्क भएको हो । केन्द्र सरकार तातिएसँगै बंगाल, केरला, दिल्ली, उत्तरप्रदेश, कर्नाटक, महाराष्ट्र, मध्यप्रदेश र छत्तिसगढलगायतका प्रदेशले पनि आकस्मिक बैठक गरी संक्रमणको पछिल्लो अवस्था र सम्भावित खतराबारे समीक्षा गरेका छन् ।
यसैबीच, नेपालमा पनि सतर्ककता अपनाउन सरकारे आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुकमा संक्रमण बढ्दै गएको अवस्थामा सतर्कता अपनाउन भनेको हो ।
व्यक्तिगत सफाइमा ध्यान दिन, भौतिक दूरी कायम गर्न मन्त्रालयले सूचित गरेको छ ।