विराटनगर । उत्तरी छिमेकी मुलुक चीनमा कोरोना भाइरसको नयाँ सबभेरियन्ट बी.एफ.७ देखिएको छ । त्यहाँ पछिल्ला दिन संक्रमितको संख्या पनि ह्वात्तै बढिरहेको छ ।

छिमेकी मुलुकमा संक्रमण तीव्र रुपमा बढेपछि नेपालमा पनि सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयले नेपालमा कोरोना संक्रमणको संख्या घटे पनि विश्वव्यापीरूपमा केही देशहरूमा संक्रमणका नयाँ स्वरुपमा जोखिम बढिरहेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार छिमेकी देशहरूमा संक्रमणको पछिल्ला अवस्थाबाट सुसूचित हुँदै सजग हुन आवश्यक देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरूसँग समन्वय गर्ने कार्य गरिरहेको उनको भनाइ छ ।

पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिनसिक्वेन्सिग पछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नतिजाअनुसार सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

जसअनुसार ओमीक्रोन भेरीएन्ट बीए.२, बीए २.७५, बीए २.७५.१, बीए २.७५.२, बीए २.७५.३, बीए २.७५.५, बीए २.७५.६, बीए.२.७६, बीए.५.२, बीए.५.२.१, बी.एम.१, बिएम १.१.३, बिएन.१.३, बी क्यूब १.१,बिक्यूव १.२,बि.वाइ.१ पुष्टि भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएका बि.एफ.७ हालसम्म नेपालमा पुष्टि भएको छैन।

मन्त्रालयले मास्क प्रयोग गर्न, एक अर्कामा भौतिक रुपमा दूरी कायम राख्न र व्यक्तिगत हातको सरसफाईमा ध्यान दिन अनुरोध गरेको छ ।

14
Shares
७ पुष २०७९, बिहीबार १८:१९