विराटनगर । सुनसरीको दुहबीमा वृत्ति परामर्श, उद्यम तथा रोजगार मेला आयोजना हुने भएको छ । युवाहरुलाई लक्षित गर्दै भोलिदेखि मेला सञ्चालन हुने भएको हो ।

दुहबी नगरपालिका वडा नम्बर ५ स्थित सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा हुने मेला पुस ९ गतेसम्म सञ्चालन हुनेछ ।

समुन्नत दुहबी नगरपालिका निर्माणका लागि बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने साथै लघु उद्यामको माध्यमबाट परिष्कृत उद्यमशीलता प्रवद्र्धन गनै मेला आयोजना गरिएको दुहबीका मेयर बेदनारायण गच्छदारले बताए ।

मेलामा वृत्ति विकास तथा रोजगारसम्बन्धी परामर्श सेवा तथा सूचना दिइने भएको छ । यसैगरी सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनीका साथै तालिमबारे पनि जानकारी दिइने भएको छ ।

रोजगारसम्बन्धी सूचनाका साथै रोजगारदाताहरुसँग युवाहरुको प्रत्यक्ष सम्पर्क पनि गराइने आयोजकको भनाइ छ ।

मेलाकै अवसरमा बेरोजगार युवाहरु र रोजगारदाताबीच सम्पर्क गराएर रोजगारीको अवसर प्रदान गर्ने पहल समेत गरिने भएको छ ।

यसैगरी स्थानीय लघु उद्यमीहरुले उत्पादन गरेका सामग्रीको बजार खोजीका साथै मेलामा प्रदर्शनी र बिक्रीको व्यवस्था पनि मिलाइने जनाइएको छ ।

दुहबी नगरपालिकाले आयोजना गरेको मेलाका लागि सामाजिक विकास मन्त्रालय प्रदेश १, उद्योग, श्रम तथा रोजगार मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, मनमोहन प्राविधिक विश्वविद्यालय, नेपाल उद्योग परिसंघलगायत संस्थाले सहयोग गरेका छन् ।

21
Shares
७ पुष २०७९, बिहीबार १६:३८