गगन नुनिया

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा दुईवटा स्कुल सेमिफाइनलमा पुगेका छन् ।

प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा डनबस्को र अर्पण स्कुल सेमिफाइनलमा पुगेका हुन् ।

पहिलो खेलमा मोर्डन एरा स्कुललाई १–० गोलले हराउँदै डनबस्को स्कुल सेमिफाइनलमा पुगेको छ । डनबस्कोका विधान भण्डारीले गरेको निर्णायक गोलले सेमिफाइनल यात्रा सुरक्षित बनाएको हो ।

दोस्रो खेलमा अर्पण स्कुलले पूर्वाञ्चल विद्या सदनलाई २–० गोलले पराजित गरी सेमिफाइनलमा पुगेको हो । जितको लागि अर्पणका अभिषेक मगर र पर्वत घिमिरेले १/१ गोल गरेका थिए ।

बिहीबारदेखि सेमिफाइनल खेलहरू सुरु हुनेछ । पहिलो खेल सेन्टजोसेफ र मदरल्याण्ड स्कुलबीच हुनेछ । दोस्रो खेल डनबस्को र अर्पण स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

84
Shares
६ पुष २०७९, बुधबार २१:०२